बाराको निजगढ नगरपालिका वडा नम्वर ४, बागदेउमा रहेको बाघभैरव सामुदायिक वनले उपभोक्ताको आयआर्जन बढाएर गरिबी न्यूनीकरण गर्न एक घर एक रोजगारको अभियान शुरु गरेको छ । समुहभित्रका कोही पनि उपभोक्ता रोजगारबिहीन हुन नपरोस् र स्वरोजगार बन्न चाहनेहरु पनि कुनै कारणले रोकिनु नपरोस् भनेर कार्ययोजना बनाइएको छ । र, त्यसका लागि उपभोक्ता समुहले काम समेत गरिरहेको छ ।
सामुदायिक वनका कुल ५१९ घरधुरी छन् । ती सबै धरधुरीलाई आत्मनिर्भर बनाउने लक्ष्य उपभोक्ता समुहको छ । त्यसैले बन्द भैसकेको पशुपालन व्यवसायलाई फेरि ब्यूँताइएको छ । सामुदायिक वनभित्र तारबार गरेर करिब ३० देखि ३५ हेक्टर क्षेत्रफलमा डालेघाँस र भूईंघाँस लगाउन उपभोक्तालाई नै दिइएको छ ।
पशुपालन गर्ने डेढसय जति उपभोक्ताले प्रति परिवार एकदेखि २ कठ्ठाम घाँस लगाउँछन् । प्रयाप्त घाँस हुने भएपछि पशुपालनले व्यवसायकै रुप लिँदै गएको छ । परशुराम थापा, कैलाश खड्का, कुमार खड्का लगायतका उपभोक्ताहरुले गाई–भैंसीपालनलाई व्यवसायिक रुप नै दिएका छन् । एकजनाले ८ देखि ज्ञण्ट १० वटासम्म भैंसी पालेका छन् । एकैजनाले ४०–५० लिटरसम्म दुध बिक्री गर्छन् ।
गाउँबाट दैनिक सरदर दुईहजार लिटर दुध संकलन भएर बजार पुग्ने गरेको बाघभैरव सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुदर्शनकुमार लामिछानेले जानकारी दिनुभयो । यसैगरी बाख्रापालनलाई पनि प्राथमिकतामा राखिएको छ । बोयरजातका उन्नत बाख्रा उपभोक्तालाई दिने र त्यसलाई व्यवसायिक रुपमै अघि बढाउने योजना समुहको छ । समुहका अध्यक्ष लामिछानेले भन्नुभयो– ‘आयआर्जन बढाउने र एक घर एक रोजगार बनाउने लक्ष्य सहित सामुदायिक वनले काम अघि बढाएको छ ।
त्यसका लागि उपभोक्तालाई सस्तो व्याजदरमा रकम उपलब्ध गराउँदै छौं ।’ तरकारी खेती मार्फत आय बढाउँदै उपभोक्तालाई आकर्षित गर्न उनीहरुलाई तालिम दिइएको छ । यस्तै समुहले आफैं करिब दश कठ्ठा क्षेत्रफलमा लसुन तथा प्याज खेती गरेर त्यसबारे व्यवहारिक ज्ञान सहित सदस्यहरुलाई प्रोत्साहन गर्न थालेको छ । ‘सामुदायिक वनमा आवद्ध उपभोक्ताहरु कोहीपनि काम खोज्दै विदेश जाने अवस्थाको अन्त्य गर्ने र खाद्यान्नमा बढ्दो परनिर्भरता कम गर्न सामुदायिक वनमै सम्वृद्धि खोज्ने हाम्रो योजना हो ।’अध्यक्ष लामिछानेले भन्नुभयो ।
सामुदायिक वनभित्रको करिब ४ बिघा क्षेत्रफलमा पोखरी बनाएर माछापालन समेत गरिएको छ । त्यसबाट समुहलाई पनि आम्दानी भएको छ भने उपभोक्ताहरुले बजार भाउभन्दा सस्तो मुल्यमा माछा खान पाएका छन् । किनभने समुहले आफ्ना उपभोक्तालाई प्रचलित बजार मुल्यभन्दा कममा माछा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । माछा पोखरीलाई अब पर्यटकीय स्थलका रुपमा विकास गर्ने अभियान शुरु भैसकेको छ । एउटा डुङ्गा सञ्चालनमा छ भने समुहले अरु थपेर पर्यटकलाई आकर्षित गर्दैछ । वनभित्र पार्क समेत छ ।
जर्मन सरकारको सहयोगमा भ्यू टावर समेत बनाइएको छ । पूर्वाधार थप्दै जाने र पर्यटकीय गन्तव्यका रुपमा विकास गरेर आम्दानी बढाउने योजना समुहले अघि सारको छ । लालबकैया नदीको छेउमामोहरीमा वनभोज ज्ञण्ठ स्थल बनाइएको छ । जुन भारतबाट करिब ४० किलोमिटरको दुरीमा पर्छ । तर प्रर्याप्त सुविधा र खुला ठाउँ भएकोले भारतको मोतिहारी र रक्सौंलसम्मका मानिसहरु पिकनिकका लागि त्यहाँ आउँछन् । सिजनमा एकैदिन हजारौंको भीड लाग्छ ।
कुल ६५८ हेक्टर क्षेत्रफलमा फैलिएको बाघभैरव सामुदायिक वन २०६२ सालमा समुहलाई हस्तान्तरण भएको हो । वन संरक्षणलाई ध्यान दिएर समुहले १६० हेक्टर क्षेत्रफलमा साल, खयर, बकाईनो, सिसौं, हर्रो बर्रो लगाएका विभिन्न प्रजातिका बिरुवाहरु समेत रोपेर हुर्काइरहेको छ । त्यसबाहेक पुराना रुख बिरुवाहरुको संरक्षणमा समेत उत्तिकै ध्यान दिइएको समुहले जनाएको छ । अध्यक्ष लामिछानेका अनुसार पञ्चायतकालमा झिँयाली बस्ती हटाएर वन बनाईएको हो । यो क्षेत्रमा अहिले घना जंगल छ ।
बाघभैरव सामुदायिक वन बनेपछि त झन संरक्षणले गति लिएको छ । टिक, सोखुवा साल र सिमलको त नमुना प्लट नै बनाइएको छ । वनमा चरिचरन पनि बन्द छ भने हेरालु राखेर संरक्षणको काम गरिएकोले चोरी निकासी पनि रोकिएको छ । ति सबै कामले बाघ भैरब सामुदायिक वन समुदायको समेत भरोसाको केन्द्र बन्दै गएको छ । वातावरणीय हिसावले होस या स्थानिय उपभोक्ताका दैनिक आवश्यकता परिपूर्तिका हिसावले होस, यो सामुदायिक वनले भविष्यमा जनताको आर्थिक सम्बृद्धिमा महत्वपूर्ण टेवा पु¥याउने छ ।