काठमाडौं । लैंगिक हिंसा विरुद्वको १६ दिने अभियानमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल९फकोफन० यस वर्ष पनि विविध कार्यक्रमहरु संचालन गर्ने भएको छ ।
महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।
अध्यक्ष भारती पाठकद्वारा जार विज्ञप्तिमा भनिएको छ, ‘यस महासंघले सधै झै यो वर्ष पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरी मनाउन गइरहेका छौं । यसै सन्दर्भमा सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूह, महासंघका स्थानीयदेखि राष्ट्रिय संरचनामा आबद्ध अभियानकर्मी, नागरिक समाज लगायत सम्पूर्णमा महिला तथा बालबालिका माथि हुने सबै प्रकारका हिंसाका बिरुद्धमा व्यक्तिगत र संस्थागत रुपमा लागी समतामूलक समाज निर्माणमा योगदान दिने प्रतिबद्धताका साथ सबैमा हार्दिक अपिल गर्दै यो अभियानले हिंसा रहित समाज निर्माणमा महत्वपूर्ण योगदान दिनेछ भन्दै सबैमा शुभकामना व्यक्त गर्दछौं ।’
यस्तै महासंघले लैंगिक हिंसा विरुद्धमा लाग्नको लागि प्रतिबद्धता पत्र तयार गरी यहि मंसिर १९ गतेका दिन राष्ट्रिय सभा गृहमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमूख आतिथ्यतामा विमोजन गर्ने भएको छ ।
महासंघले स्वामित्वको आधारमा नेपालमा रहेका तीन प्रकारका सम्पत्तिहरु सामुदायिक सम्पत्ति, व्यक्तिगत सम्पत्ती र सरकारको अधिनमा रहेको सम्पत्तिहरुमा महिलाको समान अधिकार र पहुँच हुनु पर्दछ । यस महासंघले सामुदायिक सम्पत्तिहरु जल, जंगल, जमिनमा महिलाको पहुँच स्थापनाको लागि वन ऐन, कानुन र नियमावलीमा महिलाको अधिकार स्थापनाको लागि महत्वपूर्ण भूमिका खेलेको जनाएको छ ।
महासंघले भनेको छ, ‘यो अझै पूर्ण छैन । त्यस्तै व्यक्तिगत सम्पत्ति र सरकारको अधिनमा रहेको सम्पत्तिमा पनि समान अधिकारको लागि अनवरत वकालत गरिरहेको छ ।’