मुगाली महिलाको संरक्षणमै मन

घाँस दाउराकै लागि समस्या बढेपछि मुगुको रारा छाँयानाथ नगरपालिका वडा नम्वर १, छत्तेलबाडाका महिलाहरु सामुदायिक वन बनाएर संरक्षण गर्ने र चाहिएका बखत श्रोतसाधनको उपयोग गर्न जुटेका थिए । किनभने पहिला श्रीनगर छत्तेलबाडाको वनमा केही थिएन् ।

खुला र उजाडजस्तै थियो, तर जब समुदायका महिलाहरु अघि सरे, तब वन जोगिन थाल्यो र हराभरा भयो । त्यसैक्रममा २०७१ सालमा महिला समुहलाई सरकारले सामुदायिक वन हस्तान्तरण गरेको हो । मुगाली महिलाहरुको वन संरक्षणको लगावकै कारण करिब ३ सय घरधुरीलाई अहिले घाँसदाउराको समस्या छैन, अत्यावश्यक पर्दा काठपात पनि उपलब्ध हुन्छ भने जडीबुटी संकलनबाट पनि स्थानीयलाई राम्रै फाईदा भएको छ ।

२५ हेक्टरभन्दा धेरै वन क्षेत्र हिजोआज सामुदायिक वनका रुपमा घना बनेको छ । हेरचाहका लागि समुहले अलग्गै हेरालु राखेको छ भने कार्यसमितिका महिलाहरुले समेत अनुगमन र रेखदेख गर्दै आएका छन् । भदाली महिला सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष नन्दादेवी शाहीले गाउँ नजिकैका रित्ता े े वन हराभरा बनाएर आफूहरुले जोगाएको ज्ञडट र घाँसपातमा सहयोग पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘वन बिग्रियो भनेर हामी महिलाहरु नै जोगाउन कम्मर कसेका हौं । वृक्षरोपण गरेर हुर्काउने र जथाभावी वन प्रवेश रोक्ने गरेपछि जंगल धेरै नै बाक्लो भएको छ । समुहमा सबै महिला नै छौं । तर लेखपढमा कमजोर हुँदा हिसाबकिताबमा अलि अप्ठ्यारो परेकोले अहिले सचिवमा पुरुषलाई राखेर काम गर्दै आएका छौं ।’ वन क्षेत्रमा सेतो चिनी, चिराइतो, सिल्पाडीका जरा लगायतका जडीबुटी पाइन्छन् । त्यसबाट उपभोक्ताको आयआर्जनमा राम्रै फाईदा भएको छ ।

यसबाहेक समुहले विपन्नहरुलाई आयआर्जनका लागि बिना व्याज ऋण लगानी गर्दै आएको छ । समुहको सहयोग भएपछि उनीहरुले पसल, व्यवसाय, बाख्रा, भैसी, कुखुरासहित पशुपालन र कृषि लगायतका काम गर्दै आय बढाउदैं आएका छन् । जिल्ला सदरमुकाम मान्मासँगैको वन क्षेत्र भएकोले पर्यापर्यटन मार्फत आयआर्जन बढाउने योजना पनि अघि सारेको अध्यक्ष शाहीले जानकारी दिनुभयो । घाँस दाउरा लिनेगरी उपभोक्ताका लागि ३–३ महिनामा जंगल खोल्ने गरिएको छ ।

वन हराभरा र आवश्यक पर्दा सजिलै श्रोतको उपयोग गर्न पाएपछि उपभोक्ताहरु पनि खुसी छन् । समुहका सचिव लोकजंग मल्लका अनुसार संरक्षणमा भदाली सामुदायिक वनका महिलाहरु एकदमै अग्रसर छन् । उहाँले आफूले सचिव भएर हिसाव किताबमा सघाउने र महिलाहरुको संरक्षणका लागि अघि सारेका योजनामा सकारात्मक सहयोग गर्दै वन अझै राम्रो बनाउन गाउँलेहरुलाई समेत हौसला दिने गरेको बताउनुभयो ।

भदाली महिला सामुदायिक वन, मुगु

प्रकाशित मिति : 14 डिसेम्बर 2021, मङ्गलवार
प्रतिक्रिया दिनुहोस