सम्वृद्धिको लागि वन र कृषिलाई संगसंगै लैजानुपर्छ-कोषाध्यक्ष न्यौपाने

शान्ता न्यौपाने, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघीय कोषाध्यक्ष हुनुहुन्छ । काभ्रेकी स्थायी बासिन्दा उहाँले सामुदायिक वन उपभोक्ता समूहको सदस्य हुँदै महासंघको जिल्ला र केन्द्रीय तहमा नेतृत्व गर्दै आउनुभएको छ कोषाध्यक्ष न्यौपानेले वनलाई सम्वृद्दिको रुपमा उपयोग गर्नुपर्ने र महिलालाई आत्मनिर्भर बनाउन उत्पादन र उद्यममा जोड्नुपर्नेमा जोडदिँदै आउनुभएको छ । प्रस्तुत छ, हाम्रोवन डटकमका लागि उहाँसँग गरिएको कुराकानी ।

कोषाध्यक्षज्यू, तपाइँको सामुदायिक वन अभियानको यात्रा कहिँले सुरु भएको हो ?

मेरो सामुदायिक वनको यात्रा २०५७ सालबाट सुरु भएको हो । २०५७ मंसिर १२ गते काभ्रेको इन्द्रेश्वरी थल्पु सामुदायिक वन उपभोक्ता समूह क को उपभोक्ताका रुपमा खोपासीमा भएको भेला मेरो सुरुवाती यात्रा थियो । त्यसअघि विद्यालय पढ्दा नै विरुवा रोप्ने र जोगाउने काममा चासो थियो । विद्यालयमा पढ्दा सरले रुखविरुवाले अक्सिजन दिन्छन् भन्नुभएको थियो । त्यसले मलाई वातावरण र वन अभियानमा लाग्न प्रेरणा दियो ।

नेतृत्वमा चाहीँ कसरी जोडिनुभयो त ?

सामुदायिक वनको महिला र पुरुष बराबर भन्ने नीतिगत व्यवस्थाले मलाई सुरुदेखि नै आकर्षित गरेको हो समूहको भेलामा जाँदा म महिलाका तर्फबाट बोल्ने अवसर पाएँ । त्यो बेला सानै थिएँ । निकै डरका साथ आफ्ना कुरा राखेँ । पछि नेतृत्वमा महिला र पुरुषलाई राख्ने नीति अनुसार मलाई कोषाध्यक्ष बन्न भन्नुभयो । केही थाहा थिएन तर बनें । अनि समूहमा काम गर्दा अरु समूहको साधारण सभा र भेलाहरुमा अतिथि भएर जाने अवसर मिल्यो । लेखाबारे प्रकृया बुझ्ने अवसर पाएँ । कसरी बोल्ने र निर्णय गर्ने भन्ने सिकियो ।

त्यो बेलाका कुनै खास घटना वा परिस्थिति सम्झनामा छन् । छन् भने कसरी सम्झनु हुन्छ ?

मलाई समूहका तत्कालीन अध्यक्ष बलराम गुरागाइँ र वन कर्मचारी नानीकुमार लामाले फेकोफनमा लाग्न प्रोत्साहन गर्नुभएको हो । कार्यसमितिमा रहँदा धुलिखेलको पकुचा दोभान सामुदायिक वन उपभोक्ता समूहको भेलामा निकै विवाद भएको थियो । तर मैले विधान बोकेर गएकोले त्यहीँ आधारमा विवाद मिलाउन सफल भए । त्यो म बिर्सन्न । यसरी अघि बढ्दै जाँदा सबैले राम्रो गर्नुपर्छ भन्दै हौसला दिनुभयो । मैले पनि काम गर्दै गएँ । जिल्लामा कोषाध्यक्ष र उपाध्यक्ष भएर काम गर्दा सामुदायिक वन र समुदायका बारेमा मैले धेरै कुरा सिकेँ । सकेको र क्षमताले भ्याए अनुसार काम पनि इमानदारितका साथ गरें ।

जिल्ला अध्यक्ष पनि बन्नुभयो, त्यसबेला महिलाले नेतृत्व तहमै आउन र जिल्ला हाँकेर काम गर्न कति सजिलो थियो वा अप्ठ्यारो पो थियो कि ?

हो, अध्यक्ष हुँदा धेरै स्मरणीय सन्दर्भहरु छन् । कोषाध्यक्षदेखि उपाध्यक्ष भएर काम गर्दा अब समुदायका लागि ढुक्कले काम गर्न सक्छु भन्ने विश्वास बढेको थियो । महासंघले महिलालाई नेतृत्वमा ल्याउन विधानमै अवसर दिएकोले हौसला पनि बढेको थियो । तर म अध्यक्ष उठ्ने बेला विवाद पनि भयो । महिलालाई नेतृत्व सुम्पन सकिन्न भनेर कतिपय साथीहरु लाग्नुभयो । त्यसपछि त म झन् प्रतिज्ञा गरेरै लागें कि जसरी पनि प्रतिष्पर्धा गर्छु । चुनाव हुँदा मैले जितेँ । तर सहकर्मी टिमका साथीले हार्दा नरमाइलो पनि लाग्यो । अध्यक्ष भएर निकै मिहेनत गरेर काम गरें । फलस्वरुप दोश्रो कार्यकाल पनि काभ्रे फेकोफनको नेतृत्व गर्ने अवसर मिल्यो ।

जिल्लापछि केन्द्रीय नेतृत्व तहमा आउनुभयो । कसरी हुँदैछ काम ?

काभ्रेको दोश्रो कार्यकाल अध्यक्ष भएपछि म फेकोफनको केन्द्रीय सदस्य भएँ । सचिवालय सदस्य भएँ अनि २०८० देखि कोषाध्यक्ष भएर काम गर्दैछु । अहिले कोषाध्यक्ष भए पछि उपभोक्ता र समूहका लागि काम गर्न कार्यक्रम र कोषको व्यवस्थापनमा समन्वय र चासो बढी हुँदो रहेछ । तर स्थानीयदेखि जिल्ला र प्रदेश तथा केन्द्रमा पनि राम्रै ढंगले कामहरु भैरहेका छन् ।

महासंघले अहिले के कस्ता कामहरु गरिरहेको छ ?

सामुदायिक वन र उपभोक्ता समूहको हक अधिकारका सवाललाई केन्द्रमा राखेर उपभोक्ताको हक अधिकार खोसिने कानुनविरुद्द दबाबमुलक गतिविधि गर्ने र सरकारलाई सुझाव दिने काम गरिरहेका छौं । वन ऐन र नियमावली समूह र उपभोक्ताका पक्षमा हुने गरी सुझाव दिने र सरकारी निकायलाई दबाब दिने काम पनि फेकोफनले गर्दै आएको छ । सरकार र सरोकारवालाहरुसँग छलफल, बहस र समन्वयका कामहरु पनि भैरहेकै छैन । स्थानीय तह जनता र उपभोक्ताको सबैभन्दा नजिकको सरकार भएकोले उनीहरुले वन ऐन तथा नीतिहरु बनाउँदा सबैभन्दा बढी उपभोक्ता मैत्री हुनुपर्छ भनेर छलफल गर्ने तथा सुझाव दिने पनि गरिरहेका छौं ।

उपभोक्तालाई आर्थिक रुपमा सक्षम बनाउन महासंघले के के गर्दैछ ?

उपभोक्ता समूहहरुलाई आर्थिक रुपले सम्पन्न बनाउने लक्ष्य फेकोफनको छ । वनबाट आर्थिक सम्वृद्दि सम्भव छ भन्ने कुरालाई फेकोफनले केन्द्रमा राखेर काम गर्दै आएकोले समुदायले दुनाटपरी, हस्तकला, जडिबुटी र जैविक मल तथा समिल उद्योगहरु र अरु घरेलु उद्योगहरु सञ्चालन गर्दा सघाउने र नीतिगत सहजताका लागि सरकारसँग छलफल गर्ने काम जारी छन् ।

तपाइँ आफै महिला उद्यमी र व्यवसायी पनि त हो नि । कस्तो छ वन र कृषिसँग जोडिएर काम गर्दाको अनुभव ?

वनबाट सम्वृद्दि सम्भव छ भनेर महासंघले सरकारसँग भनिरहेको छ । वन श्रोतको सही परिचालन भए रोजगारी सिर्जना गरी युवालाई देशभित्रै काम दिन सकिन्छ । उद्यम र रोजगारीमार्फत आर्थिक सम्वृद्दिले मात्रै नेपालको विकासमा ठूलो फड्को मार्न सकिन्छ । त्यसलाई सार्थक बनाउनुपर्छ भनेर मैले तरकारी खेतीलाई व्यवसायिक रुपमा अघि बढाएको हो । अरु धेरै महिला दिदीबहिनीहरुलाई पनि आयआर्जनमा जोडेर काम गर्दा धेरै फाइदा भएको छ । महिलाहरु आत्मनिर्भर हुनुपर्छ भन्ने मेरो मान्यता छ त्यसैले आफूले समाजमा र समुदायमा काम गरिरहँदा पनि गरिखाने ठाउँ आफ्नो अलग्गै चाहिन्छ भनेर मैले तरकारी खेतीलाई अघि बढाउन अरुलाई पनि प्रोत्साहन गरेको हो ।

तपाइँको खास लक्ष्य अब के छ ?

त्यस्तो खास धेरै त छैन । तर समुदायसँग काम गर्ने र राजनीतिक क्षेत्रमा पनि काम गर्दै अघि बढ्ने हो । आफ्ना लागि काम गर्ने र कमाउने पनि हो । त्यो कृषिबाटै सकिन्छ भन्ने लाग्छ । अझ कृषि र वनलाई जोडेर काम गर्न सकियो भने धेरै राम्रो सम्भावना पनि देख्छु म ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : 23 जुलाई 2026, बिहीबार
प्रतिक्रिया दिनुहोस